एक देखि हजार सम्म
गाउँ देखि बजार सम्म
रेडियो देखि टिभी सम्म
अनि,
सडक देखि सदन सम्म
चलेको छ चर्चा चुनावको।
जनताको स्थिति, झुठको खेती
प्रेस बिज्ञपति, घोषणा पत्रका नीति
देखाउदै दौडिएका छन
दुलोभित्र लुकेका पनि यसपाला।
एउटा रौनक छाएको छ
गाउँ तिर शहर तिर ।
कारण,
चलेको छ चर्चा चुनावको।
आज कुन पार्टी को छ ?
अनि भोलि कस्को ?
सोध्दै, खोज्दै छन युवा
सेडुल,
मोटरसाइकल र्याली को।
यताकता लागेको छ पर्व
पेट्रोल को।
कारण,
चलेको छ चर्चा चुनाबको।
भ्याइ नभ्याइ छ
नमस्ते फर्काउन अहिले सबैलाइ ।
कहिलै एक नजर नहेर्ने हरु बाट
जय जयकार छ।
भोट माग्ने हरु को लम्पसार छ।
एक प्लेट चिउरा मासु को भरमा
अबुझ भनौदा जनता बाट
ठुला बडा को स्वागत सत्कार छ।
कारण,
चलेको छ चर्चा चुनावको।
पल्ला घरे ठुला बा पनि
उठेछन क्यारे चुनाब मा ।
मलाइ त बडो चिन्ता लागेको छ।
ल्याप्चे को भर मा जिन्दगी
चलाएका उनले,
साच्चै स्थानीय निकाए कसरी चलाउलान ?
तैपनी,
चलेकै छ चर्चा चुनावको ।
No comments:
Post a Comment